प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १५८ को उपनियम (१) बमोजिम समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) समितिको कार्यक्षेत्र भित्र पर्ने मन्त्रालय, आयोग र निकायसँग सम्बन्धित विधेयक उपर दफावार छलफल गरी सो सम्बन्धी प्रतिवेदन बैठकमा पेस गर्ने,
(ख) मन्त्रालय र अन्तर्गतका निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अन्य क्रियाकलापको मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र समुचित टिप्पणी, सिफारिस र निर्देशनसहितको वार्षिक प्रतिवेदन बैठकमा पेस गर्ने,
(ग) मन्त्रालय र अन्तर्गतका निकायको राजस्व र व्यय सम्बन्धी अनुमानको जाँच गरी वार्षिक अनुमान तयार गर्ने तरिका, वार्षिक अनुमानमा निहित नीतिको सट्टा अपनाउन सकिने वैकल्पिक नीति र वार्षिक अनुमानमा रहेको रकममा के कति मितव्ययीता गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र आफ्नो रायसहितको वार्षिक प्रतिवेदन बैठकमा पेस गर्ने,
(घ) मन्त्रीले प्रदेश सरकारको तर्फबाट बैठकमा समय-समयमा दिएका आश्वासनलाई पूरा गर्न प्रदेश सरकारबाट के कस्ता कार्य गरिएका छन् सो सम्बन्धमा अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेस गर्ने,
(ङ) कार्यक्षेत्रसँग सम्बन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए नभएको अध्ययन, अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेस गर्ने,
(च) सभाबाट प्रत्यायोजित अधिकार अन्तर्गत बनाइएको नियम संविधान, सम्बन्धित ऐन, प्रचलित कानुन बमोजिम बनेको छ वा छैन र प्रदेश सरकारबाट प्रचलित ऐन, नियम अनुरुप काम भए गरेको छ वा छैन भन्ने विषयमा मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
(छ) प्रदेश सरकारबाट समय-समयमा गठन हुने छानबिन आयोग वा समिति र जाँचबुझ आयोग वा समितिबाट प्रस्तुत प्रतिवेदन कार्यान्वयनको अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने,
(ज) सर्वसाधारणबाट प्राप्त उजुरीको सुनुवाइ गर्ने,
(झ) सम्बद्ध मन्त्रालय र अन्य निकायबाट सम्पादन भएका कामको अनुगमन तथा मूल्याङ्कन गरी सो सम्बन्धमा आवश्यक निर्देशन दिने,
(ञ) कानुन कार्यान्वयनको मापन सम्बन्धी कार्य गर्ने,
(ट) कार्यक्षेत्र अन्तर्गतका संवैधानिक आयोगका कामकारवाहीको अनुगमन तथा मूल्याङ्कन गरी प्रतिवेदन दिने, वार्षिक प्रतिवेदनमाथि छलफल गरी सुझाव दिने,
(ठ) समितिले दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन तथा मूल्याङ्कन र समीक्षा गरी सोको प्रतिवेदन सभामा पेस गर्ने,
(ड) समितिको निर्देशन पालना नगर्ने मन्त्रालयले सम्बन्धित समिति वा सभा बैठकमा जवाफ दिनुपर्ने,
(ढ) बैठकले सुम्पेको अन्य काम गर्ने ।